रुपन्देही । लुम्बिनीका चार राजनीतिक दलले मुख्यमन्त्री शंखर पोखरेल सहभागि कार्यक्रम बहिष्कार गर्ने भएका छन् ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका हुन ।
पोखरेल नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभरी नै मुख्यमन्त्री सहभागि कार्यक्रम बहिष्कार गर्न अपिल गरेको हो । सोमबार दिउँसो बसेको चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै सो गठबन्धनले मुख्यमन्त्री अल्पमत परेको दावी समेत गरेको छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर प्रयोग गरि मुख्यमन्त्री बनेको र सरकार धेरै दिन टिक्न नसक्ने दावी गरे ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्र कानोडियाले प्रदेश प्रमुखले संविधान विपरित काम गरेकाले तत्काल बर्खास्त गरिनुपर्ने माग राखे । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले अराजनीतिक तरिकाले सपथ लिएर नियम कानुन मिचेको आरोप समेत उनले लगाए चार दलको बैठकले नेकपा एमाले परित्याग गरि सांसद पदबाट राजीनामा दिएका दीर्घनारायण पाण्डेलाई राष्ट्रियसभाको चुनावमा उठाउने निर्णय समेत गरेको छ ।
हिजो राजीनामा दिएका पाण्डेय आज नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । कपिलवस्तुबाट प्रदेशसभामा निर्वाचित उनलाई अब राष्ट्रियसभामा उठाउने निर्णय भएको काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए ।