काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ। नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो।
प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ। यो अवस्था काठमाडौँ उपत्यकामा समेत देखिएको छ। भारतबाट आएका व्यक्तिको परीक्षण गरी उचित व्यवस्थापन नभई खुलमखुला नेपाल प्रवेश गर्दा समस्या जटिल भएको जनस्वास्थ्य विज्ञको अनुमान छ।
हुन पनि विगत वर्षमा भारतमा भयावहस्थिति भएकोमा त्यहाँबाट आएका व्यक्तिका कारण त्यसको केही हप्तामै नेपालमा पनि महामारी फैलिएको थियो। यसपाली पनि भारतमा विश्वमै उच्च गतिमा महामारी फैलिएको केही हप्तामै नेपाल प्रभावित हुन पुगेको तथ्य स्पष्ट छ। यसको मुख्य समस्या भनेको खुला सिमाना हो। भारतमा अक्सिजन नपाएर कोरोना सङ्क्रमितको मृत्यु भएको समाचार बाहिर आइरहेकै छ।
भारत कै अवस्था नेपालमा हुने हो की भन्ने चिन्ताका बीच सरकारको निर्देशनबमोजिम प्रभावित जिल्लामा अहिले निषेधको आदेश जारी गरेर सङ्क्रमण नियन्त्रणको प्रयास भइरहेको छ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो। सोही अधिकार प्रयोग गर्दै बाँके लगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले आजबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेका छन्।
सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको आदेश जारी गरेको थियो। उक्त आदेश २० गतेसम्म जारी रहने छ। त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ।
सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो। आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ। काठमाडौँ उपत्यकालगायतका ११ जिल्लाले आज बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ। यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन्।
यस्तै तीन जिल्लामा आंशिक निषेधाज्ञ जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले बताए। उनकाअनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ।
कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो। बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ। उक्त क्षेत्रमा यसअघि नै लागू गरिएको थियो।
त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ।
बर्दियाको गुलरिया नगरपालिका–५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको मन्त्रालयले जनाएको छ।