Aafno Khabar

बिनापास चलाइएका चार सय बढी सवारीसाधन हाेल्ड

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

काठमाडाैं । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ । निषेधाज्ञाको पहिलो दिन आज उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ ।

सडक क्षेत्रका पसलहरू खुलेका छैनन् । चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् । सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि कोटेश्वर, बल्खु, कलंकीलगायत नाकाहरूमा भने केही बेर ट्राफिक जाम पनि देखिएको छ ।

हिजो बाहिरी जिल्लाबाट हिँडेका सवारी बिहान उपत्यका भित्रिएकाले पनि नाकाहरूमा चाप बढेको हो । निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ ।

वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ । प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा होल्डिङ सेन्टर बनाएका छन् ।

अत्यावश्यक सेवा र अनुमतिवाहकबाहेकका सवारी र पैदलै मानिसको आवागमन भए नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्न तीनवटै प्रशासनले प्रहरी र सशस्त्रलाई निर्देशन दिएका छन् ।

उपत्यमा प्रहरीले चेकजाँच कडा बनाएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो बिहान ४ सयभन्दा बढी सवारी हाेल्ड गरिएकाे प्रहरीले जनाएकाे छ ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।