काठमाडाैं । बुधबार गण्डकी प्रदेश सभाकाे बैठकमा जनमाेर्चाका सांसद खिमविक्रम शाही उपस्थित भएनन् । उनी उपस्थित नभएपछि उनलाई अज्ञात पारिएकाे आशंका गरियाे । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सभामा दर्ता भएको अविश्वासको मतदान हुने समयमा जनमोर्चा नेपालका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भएको र उनको खोजी गर्न सचेतक पियारी थापाले प्रदेसभामा निवेदन दिइन् ।
थापाले सभामुख नेत्रनाथ अधिकारीलाई शाहीकाे जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित भयाे ।
त्यसपछि सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । गण्डकीमा एमालेको २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एक सांसद छन् ।
यस्तो अवस्थामा गण्डकी प्रदेशमा जनमोर्चाको एक भोट पनि निर्णायक सावित हुनेछ ।
शाही बिरामी भएकाे दाबी गरिनुमा पार्टी नेतृत्वले पनि शंका व्यक्त गरेकाे छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना रिपोर्ट नेगेटिभ भएको सांसदलाई अस्पतालमा बन्दी बनाइएको आरोप लगाएका छन् ।