काठमाडाैं । निषेधाज्ञाका विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार थप आदेश जारी गरेका छन् ।
यसअघि जारी आदेशमा परिमार्जन गर्न थप आदेश जारी भएको जनाएको छ । मंगलबार जारी नयाँ आदेशमा विवाह, ब्रतबन्धमा १५ जनासम्म सहभागीहरुले दुई वटासम्म सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । गाडीमा ब्यानर लगाउनु पर्नेछ ।
त्यस्तै, पार्टी प्यालेसमा विवाह गर्न सकिनेछ । त्यसका लागि भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
नयाँ आदेशमा निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने जनाएको छ । यसअघि बिहानदेखि साँझ ५ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको थियो ।
अब भने ग्रोसरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।
बैंक तथा बित्तीय संस्था, बीमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारीमा काम गर्ने कर्मचारीले सम्बन्धित कार्यालयकाे परिचय पत्रकाे आधारमा आवत जावत गर्न सक्नेछन् ।