Aafno Khabar

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज

  • आफ्नो खबर
  • April 24, 2021 प्रकाशित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज नेदरल्याण्ड्सको सामना गर्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि सुरु हुँदैछ ।

लिग चरणको विजेता हुँदै नेपालले फाइनलसम्मको यात्रा तय गरेको छ । नेदरल्याण्ड्स भने दोस्रो स्थानमा रहेर नेपालसँगको भेट सुनिश्चित गरेको हो ।

टी ट्वान्टी अन्तर्राष्ट्रियको विश्व वरियतामा १५ औं स्थानमा रहेको नेपालले नेदरल्याण्ड्सलाई हराएर विश्व वरियतामा उक्लिने सम्भाबना लिएर मैदानमा उत्रिनेछ । दर्शकको अनुपस्थिति रहेपनि नेपाललाई भने घरेलु मैदानको साथ रहनेछ ।

नेपालले लिगको अन्तिम खेलमा मलेसिया बिरुद्ध उतारेको अन्तिम एघारलाई नै प्राथमिकता दिनेछ । स्पिनर साहब आलमको स्थानमा कमल ऐरीले स्थान पाउनेछन् । कमलले डेब्यु खेलमै तीन विकेट लिएका थिए ।

प्रतियोगिताको पहिलो भेटमै नेदरल्याण्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको नेपालले दोस्रो खेलमा तीन विकेटको हार बेहोरेको थियो । पछिल्लो खेलमा नेपालको बलिङ कमजोर कडीको रुपमा देखिएको थियो ।

२०६ रनको योगफल तयार गरेपनि नेदरल्याण्ड्सले रोमाञ्चक स्पर्धामा तीन विकेटको जित हात पारेको थियो । उपाधिको लागि भिड्दा नेपालले बलिङमा देखिएको कमजोरीलाई सुधार्ने कोसिस गर्नेछ ।