Aafno Khabar

स्वास्थ्य मन्त्रालय भन्छ– असारसम्ममा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्छ

  • आफ्नो खबर
  • April 22, 2021 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको भन्दै मन्त्रालयले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्याङ्क प्रस्तुत गरेका हुन् । उनका अनुसार ३ लाख संक्रमित मध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार विरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष आवश्यक पर्छ । सोही अनुसार मन्त्रालयले तयारी गरिरहेको पनि उनले बताए ।

केही दिनयता काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित विरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको उनकाे भनाइ । गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भएपनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जना सम्मलाई सार्न सक्ने देखिएको उनले बताए । जुन भेरियन्ट युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए ।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको मन्त्रालयले जनाएको छ ।