काठमाडौं । नेपालका कमल सिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय डेब्यू खेलमै ३ विकेट लिएका छन् । कमलले काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज मलेसियाविरुद्ध डेब्यु गर्दै ३ विकेट लिएका हुन् ।
अविनाश बोहराको स्थानमा पहिलो रोजाईमा खेलेका कमलले ३.१ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिए । कमलले गत वर्ष नेपालमै भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान विरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए । एकदिवसीयको डेब्यू खेलमा उनले विकेट लिन सकेका थिएनन् । गत माघमा भएको चौथो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एपीएफबाट खेलेका कमल प्लेअर अफ दि म्याच बनेका थिए ।
यता नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा १ सयौं खेल पूरा गरेका छन् । २० वर्षीय सन्दीपले त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलबाट १ सयौं खेल पूरा गरेका हुन् । सन्दीप १ सय वटा टी–२० खेल खेल्ने पहिलो नेपाली क्रिकेटर समेत बने ।
बिहीबार आफ्नो १ सयौं खेलमा मलेसियाविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४२ रन खर्चेर ३ विकेट लिए । काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजमा सन्दीपले अहिलेसम्म ४ खेलमा ११ विकेट लिइसकेका छन् । सन्दीपले नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ४५ विकेट समेत लिएका छन् ।