काठमाडाैं । भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र बढिरहेको छ । बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन् । कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन् ।
अहिले भारतमा सक्रिय संक्रमितको संख्या १५ लाख छ । एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो । भारतभन्दा पहिला अमेरिकामा एकै दिन तीन लाखभन्दा बढी संक्रमित थपिएका थिए ।
बिहीबार भारतभर १ हजार १ सय ८४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म १ करोड ४२ लाख मानिसमा संक्रमण भएको छ भने १ लाख ७४ हजारले ज्यान गुमाइसकेका छन् ।