Aafno Khabar

फैलदै छ कोरोना, बढदै छन संक्रमित, लक्षण देखिए १० दिन आइसोलेसनमा

  • आफ्नो खबर
  • २०७७ चैत्र १७ गते १०:५० प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा दैनिक रूपमा ६५ हजारभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा पनि लक्षण भएकालाई अस्पताल र नभएका सङ्क्रमितलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्नुपर्ने स्पष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सातवटै मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लक्षण भएकालाई अस्पताल र नभएकालाई अनिवार्य १० दिन क्वारेन्टाइनमा राख्न सिफारिस गरेको हो ।

एकाइका प्रमुख डा. गुणराज लोहनीले अस्पताल र आइसोलेसन सेन्टरमा राखेबापत प्रतिदिन प्रतिबिरामी दुई हजार रुपियाँ सोधभर्ना स्वास्थ्य मन्त्रालयबाट लिन सकिने जानकारी गराउनुभयो ।

यसैबीच नेपालमा सोमबार थप १४१ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँंगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३४१ रहेको छ भने क्वारेन्टाइनमा ५६ जना छन् ।

देशभरका विभिन्न प्रयोगशालामा तीन हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ । विगत चौबिस घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २७ पुगेको छ ।