बागलुङ । होली खेल्ने विषयमा झडप हुँदा बागलुङमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो होली खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको हो । अन्य १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
झडपमा निसीखोला गाउँपालिका – ७ राजकुतका प्रकाश कुँवर र दिपक दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जनाको शव घटनास्थल नजिकै भिरमा भेटिएको हो । बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झडपका क्रममा विवाद हुँदा १३ जना सम्पर्कबिहिन रहेको स्थानीयले बताएका छन् ।
घटना भएको थाहा पाएलगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।