काठमाडौं । चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासले पनि शनिवार सामाजिक सञ्जालमार्फत् नेपाललाई प्रदान गरिने खोप चीनको राजधानी बेइजिङ आइपुगेको र केही दिनमै नेपालमा आउने जनाएको थियो। आज नेपाल आइपुग्ने ठानिएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले सङ्केत गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ। यद्यपि नेपालले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार चीनबाट आठ लाख मात्रा (डोज) खोप नेपाल आउँदै छ। चिनियाँ दूतावासले पनि फेसबुकमा तस्बिर राख्दै आठ लाख मात्रा खोप नेपाल ल्याउनका लागि बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको जनाएको थियो।
नेपालले प्राप्त गर्ने उक्त खोप चार लाख जनालाई लगाउन पुग्ने अधिकारीहरूले बताएका छन् । यसअघि भारतीय अनुदान, भारतकै सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनिएको र कोभ्याक्स सुविधा अन्तर्गत नेपालले खोप प्राप्त गरिसकेको छ।
सीरम इन्स्टिट्यूट अफ इन्डियासँग नेपालले किन्न सम्झौता गरेको १० लाख मात्रा खोप भने अझै आउन बाँकी छ।
चीनिया खोपका विशेषता
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको उक्त खोपलाई अक्सफर्डरआस्ट्राजेनेकाले उत्पादन गरेको कोभिशील्डको जस्तै तापक्रममा भण्डारण गर्न सकिने बताइएको छ ।
सिनोभ्याकको खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ।
यो खोप दुई मात्रा लगाउनुपर्छ। पहिलो मात्र लगाएको २१ देखि २८ दिनभित्र अर्को मात्रा लगाउनुपर्ने बताइएको छ।
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप कोभिशील्डभन्दा बढी प्रभावकारी देखिएको छ ।
यद्यपि किन्दाखेरि यो खोप कोभिसिल्डको तुलनामा महँगो पर्ने बताइएको छ।