Aafno Khabar

छिमेकीको हत्या गर्ने अभियुक्त २० वर्षपछि पक्राउ

  • आफ्नो खबर
  • March 28, 2021 प्रकाशित

सांकेतिक तस्बिर

सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह २० वर्षपछि पक्राउ परेका प्रहरीले बताएको छ ।

२०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको उक्त फैसलालाई तत्कालिन पुनरावेदन अदालत राजविराजले २०६७ चैत २२ गते तथा सर्वोच्च अदालतबाट २०७२ पुस १ गते सदर गरेको थियो । धनीलाललाई इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको टोलीले गाउँमा लुकीछपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनलाई आइतबार जिल्ला अदालत सप्तरीमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरेपछि कैद भुक्तानको लागि कारागार चलान गरिएको छ।

२०५७ साउन ३ गते राति पिसाब गर्न घरबाट बाहिर निस्केका निस्केका बेला धनीलालले खुकुरी तथा लाठी प्रहर गरी दशरथको हत्या गरेका थिए ।