Aafno Khabar

एक्कासी काठमाडाैं किन भयाे विश्वकै प्रदूषित शहर ?

  • आफ्नो खबर
  • March 26, 2021 प्रकाशित

काठमाडाैं । उपत्यकामा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ । यतिबेला उपत्यकामा भएका प्रदूषण मापन केन्द्रहरूले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) दुई सयभन्दा बढी देखाएका छन् ।

उपत्यकाको आकाश तुवाँलाले ढोकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन ।

माैसम पूर्वानुमान महाशाखाका वरिष्ठ माैसमविद् बरुण पाैडेलका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषण शुक्रबार एक्कासी बढेकाे हाे । माैसमविद् पाैडेलले भने, ‘देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हाे । वायुमण्डलमा धुलाेका कण त थिए नै शुक्रबार विभिन्न जिल्लामा लागेकाे डढेलाेका कारण तुँवालाे लागेकाे हाे ।’

वायु प्रदूषण उच्च भएपछि घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे आग्रह

वायु प्रदूषण उच्च भएपछि स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले भनेको छ, ‘मर्निङवाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौँ । घर बाहिर निस्कन परे अनिवार्य मास्क प्रयोग गरौँ ।’ मन्त्रालयले कोभिड-१९ को लागि तोकिएका जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न पनि आग्रह गरेकाे छ ।

मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ ।

यस्तै धँवा, धुलो उड्ने ‍खालका पेशा, व्‍यावसाय र निर्माण कार्यहरु केही दिनलाई रोक्‍न र अत्यावश्‍यक नभई सवारी साधन पनि नचलाउन मन्त्रालयले आग्रह गरेको छ ।