Aafno Khabar

विदेशीको इशारामा प्रधानमन्त्री ओली संविधान मास्न लागे : प्रचण्ड

  • आफ्नो खबर
  • March 21, 2021 प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्ने पात्रको रुपमा काम गरिरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन् ।‘देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका प्रतिक्रियावादीहरु जसले यो संविधान स्वीकार्न सेकेका छैनन् । ती सबै मिलेर एउटा धार बनेको छ । ती सबैले नेपालमा यो संविधान निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन्’ प्रचण्डले भने ।

प्रचण्डले आफूलाई भने संविधानको रक्षा गर्ने, समानुपातिक समावेशी व्यवस्था जोगाउने धारको रुपमा व्याख्या गरे । गणतन्त्र, संघीयता समावेशिताको विरोधीहरु अहिले पनि यो संविधानलाई निचोर्ने र च्यात्ने उद्देश्यमा रहेको उनले बताए ।

‘उनीहरुलाई के लागेको छ भने समय लिँदै जाँदा दलितहरु पनि थाकिसके, सशक्त रुपमा सडकमा आउने स्थिति छैन, आदिवासीहरु पनि थाकिसके सडकमा आउने अवस्था छैन’ प्रचण्डले भने । प्रचण्डले आफूले तत्कालिन राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्ने उपलब्धी लिएर थप उपलब्धी लिनका लागि संघर्ष गरिरहेको जिकिर गरे ।