काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिने भनेको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित चिनियाँ दूतावासमार्फत तीन लाख डोज खोप दिने घोषणा गरेको थियो ।
त्यसपछि माघ २३ मा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन संवाद गरेर ५ लाख डोज खोप दिने वाचा गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले फागुन १७ मा ट्वीट गर्दै थप ३ लाख डोज खोप दिने जनाएकी थिइन् । चिनियाँ दूतावासले उक्त खोप जतिसक्दो छिटो नेपालमा आइपुग्ने जनाएको थियो ।
तर आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने भ्याक्सिन हालसम्म आउन सकेको छैन । ‘हाम्रो सूचनाअनुसार नेपाललाई अनुदानमा उपलब्ध गराउने भ्याक्सिन बेइजिङको स्टोरमा छ । अब त्यो भ्याक्सिन ल्याउने काम नेपालको हो तर नेपालले हालसम्म उक्त खोप ल्याउन कुनै पनि जहाज पठाएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्र.ालयका अनुसार चीनबाट अनुदानमा प्राप्त खोप ल्याउन गृहकार्य भइरहेको छ।