काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको ओली समुहले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । तर माधव नेपाल समुहले भने सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको छ ।
बुधबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे । त्यसको एक घण्टा नबित्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको प्रतिकृया दिए ।
२० जना प्रदेशसभा भएको संसदीय दलमा १० जनाले गरेको निर्णय कानून सम्मत नभएको नेपाल पक्षका सांसदको भनाई छ । तर ओली समूहका सांसदले २० जना प्रदेशसभा सदस्यमध्ये एकजना सभामुख भएकाले १९ जनाको मात्र गणना गर्ने र १० जनाले गरेको बैठक नै आधिकारिक भएको दाबी गरेका छन् ।
प्रदेशसभामा एमालेका २० प्रदेशसभा सदस्य छन् । उनीहरुमध्ये एक सभामुख भए । बाँकी १९ मध्ये १० जना ओली समूहमा र ९ जना माधव समूहमा छन् ।
के छ अंक गणित ?
कर्णाली प्रदेशसभा ४० सदस्यको रहेको छ । जहाँ सबैभन्दा ठूलो दल नेकपा एमोका २० जना सांसद छन् ।
माओवादी केन्द्रका १३ जना सांसद् छन् ।तर माओवादी केन्द्रका धर्मराज रेग्मी एमालेको प्रदेश सचिवमा मनोनित भएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका ६ जना सांसद् छन् । एक जना राप्रपाबाट छन् ।
एमालेले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री शाहीलाई कम्तीमा २० जना प्रदेश सांसद चाहिन्छन् । जुन उनीसँग देखिँदैन ।