काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान पार्टीका नेता–कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्यहरुका लागि आज सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले यस्तो बताउनुभएको हो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समुहलाई इंकित गर्दै ओलीले अराजकता, अनुशासनहीनता र एकताविरोधी क्रियाकलाप स्वीकार्य नहुने बताउनुभयो ।
भोली गर्न लागेको भेलालाई संकेत गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई पार्टीका रुपमा चल्न नदिने र जहिले पनि भाँडभैलो चलाउनेविरुद्ध कारबाही गर्ने बताउनुभयो ।
आफूहरुले अराजक नभई सभ्य र अनुशासित समाज खोजेको र त्यसका लागि सभ्य र अनुशासित पार्टी चाहिने भन्दै ओलीले आफ्नो अहम तुष्टिका लागि मनपरी गर्दै हिँड्ने छुट कसैलाई नभएको बताउनुभयो ।