काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग सोमबार दुई घण्टा भन्दा बढी छलफल गरेर फर्किएका नेता नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् ।
ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोक्ने नेपाल पक्षिय नेताहरुको भनाई छ । धुम्बाराहीबाट फर्किएपछि खनाल र नेपाल समूहले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राखेको थियो ।
ओलीले मंगलबार आफ्नो सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेका छन् । तर नेता खनाल–नेपाल समूहका नेताहरुले उक्त चियापानमा नजाने बताएका छन् । नेताहरुले आफ्नो समूहका कोही पनि उक्त चियापानमा नजान निर्देशन दिएको छ ।