काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगमा विरगंज युनाइटेड र मनोहरा युनाइटेडले विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा विरगंजले सानेपा क्लबलाई ३–२गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा विरगंजलाई जित दिलाउन विवेक चौधरी, संजय चौधरी र आशालाल कुँवरले एक एक गोल गरे ।
सानेपाका उज्वल लामा र करण तामाङले एक एक गोल फर्काए । जितसँगै विरगंजले पहिलो खेलमा ३ अंक जोडेको छ । सानेपाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस्तै आजै भएको अर्को खेलमा मनोहरा युनाईटेडले महाबिर क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनोहराले विजयी सुरुवात गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको १९ औं मिनेटमा ओम प्रकाश सिंहले गोल गर्दै मनोहरालाई अग्रता दिलाएका थिए । खेलको २२ औं मिनेटमा विनय खड्काले गोल गर्दै मनोहराको अग्रता २–० को बनाए । खेलको २७ औं मिनेटमा राम ढकालले गोल गर्दै महाबिरलाई २– १ को स्थितिमा ल्याए ।
जितसँगै मनोहोराले पहिलो खेलमा ३ अंक जोडेको छ । महाबिरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ुबीु डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।