Aafno Khabar

एमालेको आजको बैठकमा के भयो ? बैठक निर्णयमा किन पुगेन ?

  • आफ्नो खबर
  • March 15, 2021 प्रकाशित

काठमाडौं । समानान्तर कमिटी गठन गरेर दुई कित्तामा विभाजित नेकपा एामलेका दुई समुह आज एक ठाउँमा उभिए । दोस्रो तहका नेताहरुको निरन्तर प्रयास पछि पार्टी कार्यालयमा धुम्बाराहीमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल एक ठाउँमा बसेका थिए ।

सर्वोच्च अदालतले एमाले ब्यूताएपछिको पहिलो औपचारिक छलफल निष्कर्षमा पुग्न भने सकेन् । नेपाल कम्युनिष्ट पार्टी हुँदा एकअर्काप्रति सार्वजनिक आलोचनामा उत्रिएका प्रधानमन्त्री ओली र नेता नेपाल पक्षका नेताहरू झन्डै चार महिनापछि औपचारिक रूपमा बैठक बसेका थिए। यो बैठकले के निर्णय गर्छ भन्ने आमचासो थियो। झन्डै दुई घन्टा बसेको बैठकले सहमति बिन्दु भने फेला पार्न सकेन।

बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले बोल्दै सबै जना मिलेर जानु पर्ने र एकता जोगाउनु पर्ने कुरा गर्नुभएको थियो । ओलीले बोलिसकेपछि नेता माधवकुमार नेपालले बोल्दै आफूहरू सधैँ एकताका पक्षमा रहेको उल्लेख तर त्यसका लागि पार्टी विधि–विधानअनुसार चल्नु पर्ने बताउनुभएको थियो ।

बैठकमा नेपाल समूहले फागुन २८ मा अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर गरेको निर्णयलाई खारेज गर्नुपर्ने बताएको थियो। त्यो बैठकले गरेका निर्णय त परेको कुरा त्यसलाई हामी बैठक नै मान्देनौं। त्यो तपाईंहरूको गुटको भेला हो। त्यसलाई पार्टी रेकर्डमा नराखौं भन्ने नेपाल पक्षको प्रस्ताव थियो । तर ओली पक्ष त्यो कुरामा सहमत नभएका नेपाल पक्षिय नेताले बताएका छन् ।

बैठकमा ओली समूहका नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङले पनि बोलेका थिए। उनीहरू सबैले पार्टी एकतालाई जोगाउन लाग्नु पर्ने बताएका थिए। तर ओली फागुन २८ गतको निर्णय फिर्ता लिन सहमत नहुँदा उनीहरु पनि निरिह देखिएका थिए ।

सुरूमा मीठा कुरा गरे पनि हामीले भनेका कुनै पनि कुरामा केपी ओलीले सहमति नभएको नेता नेपालले प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीले सुरूमा मीठा कुरा गरे पनि आफूले यसअघि गरेका निर्णय फिर्ता लिन नमानेकाले उहाँले आजको बैठक देखाउनका लागि मात्र राखेजस्तो लागेको बैठकमा सहभागी अर्का नेताले बताए।