काठमाडौं । मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । विभागीय प्रतिद्वन्दी एपीएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । शनिबार भएको फाइनलमा पुलिसका बलर चम्किदा एपीएफमाथि उसले सहजै जित हात पार्यो ।
पुलिसका युवा फास्ट बलर गुल्सन झा र सागर ढकाले ४÷४ विकेट लिएको खेलमा एपीएफ १०५ रनमै अलआउट भएको थियो । जवाफमा पुलिसले २४.१ ओभर खेल्दै २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । पुलिसका लागि ओपनर सुनिल धमलाले अर्धशतक बनाए । दिपेन्द्र सिंह ऐरीले २५ औं ओभरको पहिलो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए ।
काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो संस्करणको मेयर्स कप जित्दै पुलिसले नगद ५ लाख रुपैयाँ हात पार्यो । उपविजेता एपीएफले ३ लाख पायो । पुलिसले फाइनल जित्दै लिग चरणमा व्यहोरेको हारको बदला समेत लिएको छ ।