काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता खारेज गरेपछि माधवकुमार नेपाल पक्ष एमालेमा फर्कने निर्णय गरेको छ । सोमबार बानेश्वरको अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुले एमालेमा फर्कने र्णिय गरेको हो ।
यसअघि आइतबार सर्वोच्च अदालतले केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको दर्ता खारेज गरेर ऋषिराम कट्टेलको नाममा दर्ता भएको नेकपालाई आधिकारिकता दिएको थियो । सर्वोच्च अदालतले पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा क्रियाशिल गरेपछि नेपाल पक्षलाइ समस्या परेको थियो ।
तत्कालिन नेकपा विभाजित भएपछि प्रचण्डसँग मिलेको नेपाल पक्षलाई एमाले बन्ने की माओवादी केन्द्रमा रहने भन्ने दोधारता सृजना गरेको थियो । एमालेमा रहँदा झण्डै १५ वर्ष महासचिवको भूमिका निर्वाह गरेका माधव नेपालले अन्ततः प्रचण्डसँगको साथ छोड्न बाध्य भए । प्रधानमन्त्री ओली पक्षबाट बाहिरिए पछि प्रचण्ड र नेपालबीच गहिरो सम्बन्ध स्थापित भएको थियो ।
संसद पुनःस्थापनाको आन्दोलनका हरेक कार्यक्रममा सँगै पुग्ने प्रचण्ड र नेपाल संसद पुनःस्थापना पछि पनि राजनीतिक सहकार्यका लागि भन्दै विभिन्न संवादमा सँगै देखिएको थिए । तर आइतबार सर्वोच्चको फैसलाले नेपाल र प्रचण्डको प्रेममा समस्या ल्याएको थियो ।
अन्ततः सोमबार नै नेपाल र प्रचण्डले सम्बन्धविच्छेद गरेका छन् । उनीहरु फरक पार्टीबाट सहकार्यका लागि पहल गर्ने निर्णय गर्दै अन्तिम पटक पेरिसडाँडाबाट छुट्टिएका हुन । सर्वोच्चको फैसलासँगै नेपाल पक्षमा रहेका नेताहरुले प्रचण्डसँग एक सेकेण्ड पनि सँगै रहन नहुने तर्क गर्दै आएका थिए ।
त्यसकारण पेरिसडाँडाको बैठक अघि उनीहरु बानेश्वरको अर्याल होटलमा भेला भएका थिए । पेरिसडाँडाको बैठकबाट पनि नेपाल पक्षका नेताहरु घनश्याम भुषाल, योगेश भट्टराईलगायतका नेताहरु केही समयमा नै निस्केका थिए ।