Aafno Khabar

नेकपा संसदीय दलमा बहुमत कसको ? यस्तो छ अवस्था !

  • आफ्नो खबर
  • March 6, 2021 प्रकाशित

काठमाडौं । नेकपा ओली समुह संसदीय दलको बैठक आज बस्दैछ । औपचारिक रुपमा विभाजन भइनसकेको नेकपाको प्रचण्ड–माधव समूहले शुक्रबार बोलाएको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

बैठकपछि दलका नेता प्रचण्डले आफूहरुको पक्षमा ११५ जना सांसद रहेको दावी गरेका छन् । नेकपाको प्रतिनिधिसभामा १७४ र राष्ट्रिय सभामा ५० जना गरी कुल २२४ जना सांसद छन् । उनीहरुमध्ये प्रतिनिधिसभा सदस्य सानु शिवाको निधन भएको छ र उनको ठाउँमा कोही चयन भएको छैन ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि मत दिन पाउँदैनन् । त्यसैले नेकपा संसदीय दलमा २२१ जनाले मतदान गर्न पाउँछन् र बहुमत पुर्‍याउन १११ जना सांसद चाहिन्छ । प्रचण्ड–माधव समुहदे दाबी गरे जस्तो उनीहरुको पक्षमा ११५ सांसद भए ओली समुह संसदीय दलमा अल्पमतमा पर्नेछ ।

तर प्रचण्ड–माधव समुहले दावी गरे जस्तो शुक्रबारको बैठकमा ११५ सांसद उपस्थित छैनन् । शुक्रबारको बैठकमा उनीहरु पक्षका १०७ जनाले मात्र उपस्थितिमा हस्ताक्षर गरेका छन् ।यद्यपि नेताहरु ९१ जना प्रतिनिधिसभा सदस्य र २४ जना राष्ट्रिय सभा सदस्य आफूहरुको पक्षमा रहेको दावी गरेको छ । शुक्रबारको बैठकमा कृष्णबहादुर महरा, योगेश भट्टराईसहित ७ जना उपस्थित हुन नसकेको उनीहरु बताउँछन् ।

प्रचण्ड–माधव समूहले दलको नेता चयन गरेको भोलिपल्ट बस्न लागेको ओली पक्षको संसदीय दलको बैठकमा कति सांसद उपस्थित हुन्छन हेर्न बाँकी छ । नेकपा दुई समूहमा विभाजित हुँदा उपाध्यक्ष बामदेव गौतम कुनै पक्षतिर लागेका छैनन् ।

उनी राष्ट्रियसभा सदस्य छन् भने उनकी पत्नी तुलसा थापा प्रतिनिधिसभा सदस्य छिन् । गौतम दम्पतिजस्तै प्रतिनिधिसभा सदस्य लालबाबु पण्डित पनि कुनै पक्षमा खुलेका छैनन् । संसदीय दलमा मतविभाजन हुने अवस्था आए उनीहरुको मत निर्णायक हुने अपेक्षा गरिएको छ ।