Aafno Khabar

इन्फ्रास्ट्रक्चर बैंकको सेयरकाे मूल्य कतिसम्म जाला ?

  • आफ्नो खबर
  • February 19, 2021 प्रकाशित

काठमाडौं । सेयर बजारमा यतिबेला नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबभन्दा धेरै चर्चामा छ। यो कम्पनीको सेयर चर्चामा आउनुको मुख्य कारण यसको आइपिओ भरेका सबै, १४ लाख ७५ हजारले सेयर पाएका थिए।

यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो। बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ।

हाल कम्पनीको बजार पुँजीकरण एक खर्ब नजिक पुगेको छ। सेयर संख्या धेरै भएकाले पनि सूचीकृत भएको छोटो समयमै निफ्राको पुँजीकरण उच्च भएको छ।

कारोबार सुरू भएको दिन गत आइतबारदेखि नै कम्पनीको मूल्य दैनिक दस प्रतिशतका दरले बढेको छ। हालको बजार मूल्य प्रतिकित्ता ५ सय ४६ रूपैयाँ छ। आइपिओमा पाँच हजार रूपैयाँ लगानी गर्नेले एक महिनामै २२ हजार ३ सय रूपैयाँ नाफा कमाए, जुन राम्रो पक्ष हो। धेरै लगानीकर्ता भएको कम्पनी भएकाले बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहेका छन्।

खरिद गर्नेतर्फ अझै पनि ठूलो चाप देखिएकाले कम्पनीको मूल्य केही दिन बढ्न सक्ने देखिन्छ। बिहीबारको (मार्केट डेप्थ) हेर्दा बजार बन्द हुने बेला सेयर खरिदतर्फ १५ लाख कित्ता अर्डर देखिन्थ्यो भने बेच्नेतर्फ कोही थिएनन्। कतिपय जानकार भने कम्पनीको बजार मूल्य दुई–तीन दिनमै घट्न सक्ने बताउँछन्। सेयरको माग देखिएकाले केही दिन बढ्न सक्ने आँकलन यो क्षेत्रका जानकार बताउँछन् ।

पछिल्ला दिनमा उल्लेख्य कारोबार हुँदै गएकाले केही दिनमै यसको मूल्य वृद्धिमा ब्रेक लाग्न गई घट्न सक्नेछ। बिहीबार मात्रै यो कम्पनीको ५० करोड रूपैयाँको सेयर किनबेच भएको छ। बुधबार ७० करोडको भएको थियो।

यति धेरै रकमको कारोबार हुनु भनेको बेच्नेहरू पनि धेरै हुनु हो। यद्यपि अहिलेसम्म खरिद गर्नेको चाप बिक्री गर्नेभन्दा धेरै भएको मात्रै हो। साधारण सेयर संख्या नै ८ करोड कित्ता भएकाले केही दिनमै खरिद गर्न चाहनेले धान्न नसक्नेगरी आपूर्तिमा चाप पर्न सक्नेछ।

अर्कोतर्फ कम्पनीको वित्तीय स्थिति मजबुत छैन भने बिजनेस बढाउन सबभन्दा ठूलो चुनौती छ। कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।

निफ्रामा व्यक्तिगत निक्षेपकर्ताले कम्तीमा पाँच वर्षका लागि न्यूनतम एक करोड रूपैयाँ जम्मा गर्नुपर्छ। जसमा दिने ब्याजदर जम्मा ७.२५ प्रतिशत छ। जबकि वाणिज्य बैंकहरूले नै अहिले योभन्दा धेरै, ८ प्रतिशतसम्म ब्याज दिन्छन्।

निक्षेप मात्रै नभई ऋणपत्र लगायत उपकरण जारी गरेर पनि कम्पनीले स्रोत जुटाउन सक्छ। वाणिज्य बैंकका ऋणपत्रको ब्याजदर नै हाल ९ प्रतिशत हाराहारी छ। व्यवसायमा आक्रामक रहेका बाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गरेर स्रोत जुटाउन निफ्रालाई सबभन्दा ठूलो चुनौती छ।

अर्कोतर्फ लामो अवधिका लागि ठूलो रकम निक्षेप जम्मा गर्नेहरू एकदमै कम हुन्छन्। यस्तो अवस्थामा कम्पनीले आगामी दिनमा कसरी बिजनेस गर्न सक्छ भन्ने प्रश्न खडा भएको छ।

निफ्राले यस आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३५ करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा नाफा ५ करोडले घटेको हो।

१२ अर्ब चुक्ता पुँजी हुँदा निफ्राको प्रतिसेयर आम्दानी जम्मा ५ रूपैयाँ ८७ पैसा थियो भने २० अर्ब हुँदा ३ रूपैयाँ ५२ पैसा मात्रै हुन्छ। निफ्राको प्रबन्धपत्र अनुसार आर्थिक वर्ष २०७९/८० मा प्रतिसेयर आम्दानी ८ रूपैयाँ ८२ पैसा हुने अनुमान छ।