आगामी केही दिनहरू मङ्गल ग्रहसम्बन्धी अनुसन्धानका लागि एकदमै व्यस्त दिनका रूपमा रहनेछन्।
रातो ग्रह पनि भनिने मङ्गलको कक्षमा मङ्गलवार संयुक्त अरब एमिरेट्स र बुधवार चीनले आफ्ना अन्तरिक्ष यान पठाएका छन् भने अमेरिकाले पनि यसै महिना आफ्नो यान पठाउन लागेको छ।
यी अन्तरिक्ष अभियानको उद्देश्य मङ्गल ग्रहको भूबनोट तथा वायुमण्डलबारे अध्ययन गर्ने र प्राचीन सूक्ष्मजीवको अस्तित्वका सम्भावित सङ्केतहरू पत्ता लगाउने रहेको छ।
यूएईले आफ्नो यान पठाएको भोलिपल्ट चीनको तिआन्वेन-१ यान मङ्गल ग्रहको कक्षमा प्रवेश गरेको छ भने अमेरिकी अन्तरिक्ष संस्था नासाको पर्सभीअरन्स अभियान फेब्रुअरी १८ तारिखमा त्यहाँ पुग्नेछ।
यी अभियानहरूले मङ्गल ग्रह र पृथ्वीबीचको दूरी कम भएको अवसरको सदुपयोग गरिरहेका छन्। यी दुई ग्रहबीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ किनकि तिनको सूर्यको परिक्रमा गर्ने गति फरक हुन्छ।
तर अरू मङ्गल अभियानहरूमा जस्तै यी तीनवटा यानले पनि “सेभन मिनट्स अफ टेरर” अर्थात् मङ्गल ग्रहको माथिल्लो वायुमण्डलबाट सतहमा यान अवतरण गर्दा लाग्ने समयसहितका कठिन चुनौतीहरूको सामना गर्नुपर्नेछ।
विगतमा मङ्गल ग्रहलक्षित आधाभन्दा बढी अन्तरिक्ष अभियान विफल भएका छन्।
उसोभए यसपटक वैज्ञानिकहरूले के गरिरहेका छन् र उनीहरूले यी अभियानमार्फत् के पत्ता लगाउने योजना बनाइरहेका छन्?