काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय सानोकाजीलाई ०७० पुसमा वडा नम्बर–९ घर भएका विशाल तामाङ र पूर्णलक्ष्मी मिलेर हत्या गरेका थिए ।
विशाल र पूर्णलक्ष्मी विवाहेत्तर सम्बन्धमा थिए । ०७० पुस २१ मा सानोकाजीले उनीहरुलाई आपत्तिजनक अवस्थामा भेटेपछि विवाद भयो । विवादपछि उनीहरुले सानोकाजीको हत्या गरेको अदालतको ठहर छ ।
५५ वर्षीया पूर्णलक्ष्मीलाई ०७४ मा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला बदर गरी ३ महिना २७ दिन कैद हुने फैसला गरेको थियो । काठमाडौंको कुलेश्वरबाट पक्राउ परेकी पूर्णलक्ष्मीलाई अदालतको अनुमति लिएर कारागार चलान गरिने प्रहरीले जनाएकाे छ ।
हत्यापछि भागेर मकवानपुरगढीमा घरजम गरेर बसेका विशाला तामाङलाई महानगरीय प्रहरी परिसरको टोलीले गत मंसिरमा पक्राउ गरेको थियो । विशाललाई अदालतले १८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको छ ।