Aafno Khabar

संसद् अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने जसपाको निर्णय

  • आफ्नो खबर
  • December 22, 2020 प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जसपाका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहने निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न सङ्घर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । जसअनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाण्डौमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि सङ्घीय परिषद् अध्यक्ष डा। भट्टराईले बताउनुभयो । अरू दलसँग पनि बुझेर, तालमेल गरेर जान सक्ने पनि ढोका खुला राखेका छौँ ।’

बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरूपमा खारेज गरेको पनि डा. भट्टराईले बताउनुभयो ।