काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएकाे छ ।
मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवका अनुसार बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरिएको निर्णय सुनाएर हिड्नुभएकाे हाे ।
नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद विघटनको सिफारिस भएको हो । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।
नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन । संविधानको धारा ८५ को १ मा यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ भन्ने उल्लेख छ ।
संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।