Aafno Khabar

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

  • आफ्नो खबर
  • December 16, 2020 प्रकाशित

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि सोमबार भने काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो । मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ’ अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ श्रेष्ठले भन्नुभयो । मौसमविद्का अनुसार राति बदली भएर दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, बुधवार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।