काठमाडौं । यातायात व्यवस्था कार्यालयले ७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको जनाएको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको यातायात कार्यालय एकान्तकुनाले जनाएको छ ।
विभागले गएको वर्ष ठूलो क्षमताको छपाइयन्त्र (मास प्रिन्टर) खरिद गरेर सञ्चालनमा ल्याएसँगै यहाँका छाप्न बाँकी धेरै अनुमतिपत्र छापिएर आएको थियो । तिहारपछि कार्यालयमा अनुमतिपत्र लिन आउने सेवाग्राहीको सङ्ख्या कम भएको कार्यालयले जनाएको छ ।
कार्यालयले नवीकरणका लागि आएका सेवाग्राहीको झण्डै १५ हजार अनुमतिपत्र मात्रै विभागबाट छापिएर आउन बाँकी रहेको जनाएको छ । कार्यालयले नयाँ चालक अनुमतिपत्र नखुलाएर अनुमतिपत्र नवीकरण र वितरणको काम गरिरहेको छ ।
विभागले अनुमतिपत्रका लागि आवेदन लिइने भने पनि अझैसम्म वाग्मती प्रदेश सरकारले नयाँ अनुमतिपत्र खुलाउने निर्णय गरेको छैन ।