Aafno Khabar

बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेका एक जनाको मृत्यु

  • आफ्नो खबर
  • November 25, 2020 प्रकाशित

काठमाडौं । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको विरोधमा भइरहेको प्रदर्शनमा मंगलबार प्रहरीले गोली चलाउँदा घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ ।

गोली लागेर गम्भिर घाइते हुनुभएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो । उहाँको तिघ्रामा गोली लागेको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको परिवारिक स्राेतले बताएको छ ।

बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको थियो । बस्तीबाटै हराएकी खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।

बालिका हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए ।