काठमाडौं । काठमाडौंको खहरेमा घर भएका विष्णु निरौला ६६ वर्षको उमेरमा पनि निकै स्वस्थ र फुर्तिला थिए । कृषि विकास बैंकको जागिरबाट रिटायर्ड भएपछि परिवारसँग दिन बिताइरहेका उनलाई कुनै दीर्घरोग नरहेको पारिवारले बताएको छ ।
कोरोनाको सामान्य लक्षण देखिएपछि उनले एक साता अघि परीक्षण गराएका थिए । पाँच दिनअघि आएको रिर्पोट अनुसार निरौलामा कोरोना पोजेटिभ देखियो । कोरोना पोजेटिभ भए पनि उनको स्वास्थ्य अवस्था गम्भीर भने थिएन । रिर्पोट पोजेटिभ आएको थाहा पाए पछि भने निरौलामा अस्वभाविक स्वास्थ्य समस्या देखिएको थियो ।
जसका कारण उनको ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।
कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका कारण ‘स्ट्रोक’ भएर मृत्यु भएको परिवारजनले आशंका गरेका छन ।
‘रिपोर्ट आउनुअघिसम्म बुवाको स्वास्थ्य सुधारोन्मुख थियो, तर पोजिटिभ रिपोर्ट आएको थाहा पाएपछि एकाएक ढल्नुभयो,’ निरौलाकी बुहारीले भनिन । बिहान १० बजे बुहारीले अस्पताल गएर उनको रिर्पोट लिएर आएकी थिइन ।
रिर्पोट पोजेटिभ आएको कुरा निरौलालाई नभने पनि कुराकानीको क्रममा उनले थाहा पाएका थिए । त्यसपछि निरौला अत्याधिक आत्तिएको र उनमा अक्सिजनको लेबल ह्वात्तै घटेको थियो ।
१२ बजेसम्म निरौलालाई अस्पताल पुर्याउँदा उनको स्वास्थ्यमा निकै समस्या आएको रअस्पतालले दिउँसो १ बजे मृत घोषणा गरेको परिवारले बताएको छ ।