Aafno Khabar

कोरोना भाइरसबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म जीवित रहन्छ

  • एजेन्सी
  • October 12, 2020 प्रकाशित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ । अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो ।

अन्धकार कोठा प्रयोगशालाकाे रुपमा प्रयोग गरिएको अनुसन्धानले यस्तो निष्कर्ष निकालेकाे हाे । अन्धकारमा भन्दा प्रकाशमा कोरोनाको भाइरस चाँडो मर्न सक्ने पनि देखिएकाे छ ।

संक्रमण भएका व्यक्तिले छोएको प्लास्टिक तथा फलामका वस्तु अरु व्यक्तिले छुँदा पनि संक्रमण फैलिने सम्भावना रहेको बताइएको छ ।

यसअघि गरिएको अनुसन्धानले नोट तथा सिसामा २ देखि ३ दिनसम्म मात्र भाइरस बाँच्न सक्ने भनिएको थियो । प्लास्टिक र स्टिलमा ६ दिनसम्म मात्र बाँच्न सक्ने भनिएको थियो ।

तर अस्ट्रेलियन एजेन्सी सिएसआइआरओले गरेको पछिल्लो अनुसन्धानमा मोबाइलको स्क्रीनमा हुने सिसा, कागज वा प्लाष्टिकका नोटमा २८ दिनसम्म जीवित रहने देखिएको हो ।

यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम अँध्यारोमा गरिएको हो ।