Aafno Khabar
suvakamana add

नेता ज्यू, यो वितृष्णा कसले गर्दा ?

  • रमेश लामिछाने
  • २०७७ आश्विन २५ गते प्रकाशित

विश्वभर महामारी को रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा तीव्र गतिमा फैलिरहेको छ । सुरुवाती दिनहरु मा अन्य देशहरु भन्दा कम संक्रमण देखिँदा यो अनुसन्धान कै विषय बन्न सक्छ भन्ने विश्लेषण पनि नसुनिएको होइन तर यो ग्राफले वर्तमान समयमा ती देशहरु को तथ्यांकलाई उछिनेको छ । नेपाल जस्तो सहज स्वास्थ्य सुविधा उपलब्ध नभएको देशमा यो एउटा जटिलता को रुपमा देखिनु नौलो होइन । दिनानुदिन नयाँ संक्रमित देखिँदा देशका भिआइपीहरु समेत यसबाट अछुतो रहन सकेका छैनन् ।

दैनिक रूपमा कोही न कोही भिआइपी मा संक्रमण देखिएको खबर आइरहेको छ । तर ती भिआइपी (जो यो देशका नागरिक पनि हुन् ) मा कोरोना संक्रमण देखिएको खबरमा शीघ्र स्वास्थ्य लाभको कामनाका कमेन्ट जति छन्, त्यस्तै मात्रामा बल्ल भेटेछ त्यसले भन्ने आशयका कमेन्टहरु आइरहेको देखिन्छ । के यो अनियन्त्रित भिडले सामाजिक सञ्जालमा पोख्ने द्वेष मात्र होला त ? पक्कै होइन । सतहमा जे देखिए पनि यो आवेगको जरो भने अन्तै रहेको बुझ्न सकिन्छ ।

खासगरी यस्तो आशयको पछाडि नेपाली राजनीतिमा आउन नसकेको परिवर्तनको असर देखिन्छ । नेपाली जनताले देखेको राजनीतिक स्थायित्व, सुशासन र अग्रगामी विकासको सपनालाई वर्तमान राजनीति ले पूरा गर्न सकेको छैन । विशेषत: २०६२/६३ को जनअन्दोलन र त्यस्को जगमा संविधानसभाबाट बनेको नेपालको संविधान २०७२ ले आफ्नो भविष्यमा कायापलट गर्ने अपेक्षा राखेका नेपाली जनता को जनजीवन मा खासै ठूलो प्रभाव त्यस्ले पार्न सकेन । उल्टै संघीयताको नाममा गरिब जनतामाथि लगाइ आएको करको भारी झन् गरम बनाइयो । देशमा अग्रगामी परिवर्तन ल्याउनका लागि भनेर ज्यानको प्रवाह नगरी गोली खाएर शहीद भएका, घाइते भएका र परिवर्तनको झिनो आशाले बाँचेकाहरुको अवस्था दयनीय हुँदा त्यसकाे नेतृत्व गरेका र अन्य, जो पटकपटक सत्ताको बाग्डोर सम्हाल्न पुगे, उनीहरुको जीवनमा मात्र पहिले भनिए जस्तो आमूल परिवर्तन आयो ।

देश सर्वहारा वर्गको नेतृत्व गरेर आएको पार्टीकाे दुई तिहाईको शक्तिशाली सरकारको संचालनमा हुँदासमेत ती सामान्य नागरिकले खास परिवर्तनको अनुभव गर्न पाएनन् भने अन्य पुँजीवादी भनिएका पार्टीले झन् कसरी गर्थे जनहितको काम ? खासगरी राजनीतिक नेतृत्वले देशमा शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका अन्य पूर्वाधारको विकास गर्नुको साटो एकपछि अर्को विवादित राजनीतिक नियुक्ति र निर्णय तिर मात्र केन्द्रित हुँदा पनि नागरिकहरुमा नैरास्यता बढेको हो ।

देशमा व्याप्त भ्रष्टाचार र दिनदिनै बाहिर आइरहेको बलात्कार जस्तो जघन्य अपराधमा राज्यको उपस्थिति कमजोर हुँदा आक्रोश झन बढ्दो छ । जनमाग अनुसारका कामहरु थोरै मात्र पनि आफूलाई जनताको सेवक हुँ भन्ने सरकार र राजनीतिक नेतृत्वले गर्दिए यो आक्रोश समर्थनमा परिवर्तन हुने थियो । उदाहरणका लागि नयाँ नक्सा जारी गर्ने सरकारको निर्णयलाई लिन सकिन्छ जस्ले व्यापक जनसमर्थन पाएको थियो । अहिलेको अवस्थामा हेर्ने हो भने नेपालमा सरकारको उपस्थिति मात्र गतिलो नदेखिएको होइन, प्रतिपक्षलाई त झन् बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । यसरी व्यवस्था थुप्रैपटक परिवर्तन भए पनि आफूहरुको जीवनमा कुनै परिवर्तन देख्न नपाएका नेपाली जनतालाई अब फेरि अर्को विकल्प वा पुरानै व्यवस्थाको खोजी गर्नुपर्ने हो की भन्ने लाग्नु स्वभाविक नै हो ।

जे होस् विश्व नै आक्रान्त पारेको यो भाइरसकाे संक्रमण चाहे भिआइपीलाई होस् या हामी सामान्य मान्छेलाई, यो पक्कै दु:खलाग्दो विषय हो । तर जनताले कति दु:ख भोगेका छन् भन्ने केही हदसम्म भएपनि आफ्ना नेताले बुझुन् भनेर ठिक्क परेछ भन्ने जनताको आशय परिवर्तन गर्न आफ्नो आचरण सुधार्ने पाे हाे कि, नेता ज्यू ?