Aafno Khabar

सरकारले डा. केसीकाे ज्यान लिने नियत राखेकाे वार्ता टाेलीको आरोप

  • आफ्नो खबर
  • October 10, 2020 प्रकाशित

काठमाडाैं । अनसनरत् डा. गोविन्द केसी पक्षले सरकार समझदारीबाट पछि हटेको बताएको छ । सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप केसी पक्षले लगाएको छ ।

शनिबार बिहान विज्ञप्ति जारी गरी केसी पक्षको वार्ता टोलीले राजनीतिक नेतृत्व पक्षले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न खोजेको बताएको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा. केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

दुवै पक्षको गम्भीर गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राखेका माग सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । तर असोज २३ गते राज्यको राजनीतिक नेतृत्व पक्षले उक्त सझदारीबाट पछि हट्दै प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

१९ औं सत्याग्रहको आज २७ दिन पुग्दा डा. केसीको स्वास्थ्य नाजुक भइसकेको छ । केसीकाे जीवन रक्षाका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न केसी पक्षले सबै नागरिकलाई अपिल पनि गरेका छन् ।