Aafno Khabar

नेपालमा कोरोना सङ्क्रमण डरलाग्दो स्थितिमा, यस्तो छ संक्रमित धेरै देखिनुका कारण

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्याका आधारमा नेपाल दक्षिण एशियामा चौथो स्थानमा छ।

तर सक्रिय सङ्क्रमितको प्रतिशतका आधारमा नेपालले अतिप्रभावित देशमध्ये दोस्रो स्थानमा रहेको भारतलाई पनि उछिनेको विज्ञहरू बताउँछन्। यसबाट नेपालमा सङ्क्रमण डरलाग्दो स्थितिमा भएको चित्रण हुने उनीहरू बताउँछन्।

नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै एक लाख पुग्दा बिहीवार अपराह्णसम्म २६,६०० भन्दा केही बढी सक्रिय सङ्क्रमित थिए। यो कुल सङ्क्रमितको झन्डै २६.५ प्रतिशत हो।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८,९३,५९२ रहेको छ जुन १२.९ प्रतिशत हो। त्यसपछि सक्रिय सङ्क्रमितको दर बाङ्ग्लादेशमा २२ प्रतिशत, भुटानमा १७.१ प्रतिशत, अफगानिस्तानमा १२.९, श्रीलङ्कामा १२.३ र माल्दिभ्समा १०.५ रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार सक्रिय सङ्क्रमितको दर धेरै हुनु भनेको त्यो देशमा धेरै जोखिम हुनु हो।

दक्षिण एशियामा हेर्ने हो भने सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै छ। त्यसको अर्थ जोखिम पनि अन्य मुलुकको दाँजोमा यहाँ धेरै छ भन्ने हो, उहाँले भन्नुभयो।

तिवारीका अनुसार अहिले सक्रिय सङ्क्रमितको दर नेपालमा धेरै देखिनुका प्रमुख तीन कारण छन्।

होम आइसोलेशनमा बस्ने सङ्क्रमितको सङ्ख्या धेरै छ। १४ दिनसम्म उनीहरू आइसोलेसनमै बस्नुपर्ने सरकारको नीतिले सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।

सङ्क्रमण दर लगातार रूपमा बढिरहेको छ र मानिसको आवतजावत घटेको छैन। सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ तर निको हुने दर घटेको छ।

अस्पतालमा रहेका बिरामीको स्वास्थ्य अवस्थाअनुसार उपचार गर्ने र त्यसै अनुसार औषधि दिनुको सट्टा लामो समय निगरानीमा राख्दा पनि सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न सकिरहेको छैन

महामारी सुरु भएको देश चीनमा रहेको सङ्क्रमितको सङ्ख्यालाई गत बुधवार उछिनेको नेपाल अहिले शीर्ष ५० स्थानभित्र छ।

नेपालमा बिहीवारसम्मको तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या ९८,६१७ रहेको छ भने ५९० जनाको मृत्यु भइसकेको छ।

सङ्क्रमितको सङ्ख्या पछिल्लो एक महिनामै दोबरले भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कले देखाउँछ।

त्यसमा पनि पछिल्लो समय ६० वर्ष उमेर नाघेका मानिसहरूको सङ्क्रमित हुने दर ०.५ प्रतिशतबाट बढ्दै गएर अहिले नौ प्रतिशतको हाराहारी रहेको छ। त्यस्तै महिलाहरूको पनि सङ्क्रमित हुने दर १४ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको छ।

बाहिर जिल्लाबाट काठमाण्डौं उपत्यकामा आउने र उपत्यकाबाट बाहिर जिल्ला जाने मानिसको क्रम बढिरहेकोले सङ्क्रमण अझै दुई–तीन साता उकालो लाग्ने देखिएको छ ।