आइपिएलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध ५७ रनको जित आत्मसाथ गरेको छ । जितसँगै ६ खेलबाट ८ अंक जोडेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ ।
१ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १ सय ३६ रनमै समेटियो ।
राजस्थानका ओपनर जस बटलरबाहेक कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् । उनले ४४ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ७० रन बनाए ।
यजस्वी जयसवाल पारीको दोस्रो बलमै खाता नखोली आउट भए । कप्तान स्टिभ स्मिथले पनि ६ रनमात्र बनाउन सके । सन्जु सामसनले खाता खोल्न सकेनन् ।
महिपाल लोम्रोर ११, टम करन १५, राहुल तेवाटिया ५ र श्रीयस गोपाल १ रनको व्यक्तिगत स्कोरमा आउट भए । अन्तिम क्रममा जोफ्रा आर्चरले ११ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए ।
टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ९३ रनको योगफल खडा गरेको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रनको पारी खेले । उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे । यो उनको आईपीएल करिअरकै उत्कृष्ट प्रदर्शन हो ।
सूर्यकुमारले पाँचौं विकेटका लागि हार्दिक पन्ड्यासँग मिलेर ७६ रनको अविजित साझेदारी गरेपछि मुम्बइले सम्मानित स्कोर बनाउन सक्यो । हार्दिकले १८ बलमा अविजित २९ रन बनाए ।
ओपनर क्वीन्टन डी कक र कप्तान रोहित शर्माले ४९ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । डेब्यू बलर अंकित त्यागीको बलमा क्याचआउट हुनुअघि डी ककले १५ बलमा २३ रन बनाए । रोहितले ३५ रनको योगदान गरे ।
त्यसपछि आएका क्रुनाल पन्ड्याले १२ रन बनाएर आउट भए ।