Aafno Khabar

लिभरपुलको लज्जास्पद हार

  • एजेन्सी
  • October 5, 2020 प्रकाशित

इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले हराएको हो ।

घरेलु टोली एष्टनको जितमा ओली वाट्किन्सले ह्याट्रिक गरे । वाट्किन्सले चौथो र २२ औं मिनेटमा गोल गर्दै एष्टनलाई शुरुवाती अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लिभरपुलका मोहम्मेद सलाहले गोल फर्काए । त्यसपछि एष्टनका लागि ३५ औं मिनेटमा जोन म्याकगिन र ३९ औं मिनेटमा वाट्किन्सले गोल थपेपछि एष्टनले खेलमा ४–१ गोलको अग्रता बनायो ।

दोस्रो हाफअन्तर्गत ५५ औं मिनेटमा एष्टनका रोस बार्क्लेले गोल गरे । लगत्तै लिभरपुलका सलाहले व्यक्तिगत दोस्रो खेल गरेपछि खेल ५–२ गोलको अवस्थामा पुग्यो ।

त्यसपछि एष्टनका लागि ज्याक ग्रेएलिशले ६६ र ७५ औं मिनेटमा गोल गरेपछि एष्टनले ७–२ गोलको शानदार जित निकालेको हो । ९ अंकसहित एष्टन तालिकाको दोस्रो स्थानमा रहँदा पहिलो हार व्यहोरेको लिभरपुल समान ९ अंकका साथ पाँचौ स्थानमा छ ।