इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबमाथि १० विकेटको सानदार जित हासिल गरेको छ ।
१ सय ७९ रनको लक्ष्य १७ ओभर ४ बलमा पूरा गर्दा चेन्नईले विकेट खेर फाल्नु परेन । चेन्नईको सानदार जितमा दुबै ओपनर शेन वाटसन र फाफ डु प्लेसिसले उत्कृष्ट प्रर्दशन गरे । सुरुवाती तीन खेल हारेका चेन्नईका ओपनर पन्जाबबिरुद्ध भने सुरुवात देखिनै आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
पन्जावका बलरहरु निस्प्रभावी बनेको खेलमा वाट्सन र प्लेसिसले समान ५३ बलको सामना गरे र क्रमसः ८३ र ८७ अविजित रन प्रहार गरे । दुवैले समान ११ चौका प्रहार गर्दा वाट्सनले ३ र प्लेसिसले १ छक्का प्रहार गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जावले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७८ रनको योगफल बनाएको थियो ।
उसका लागि कप्तान तथा ओपनर केएल राहुलले ५२ बलमा ६३ रन योगदान गरे ।
राहुलले पहिलो विकेटका लागि मयंक अग्रवालसँग ६१ रन र तेस्रो विकेटका लागि निकोलास पुरनसँग मिलेर ५८ रनको साझेदारी गरेका थिए । अर्का ओपनर मयंक अग्रवालले २६ र उनी आउट भएपछि आएका मनदीप सिंहले २७ रनको योगदान गरे ।
विष्फोटक पारी खेलेका निकोलास पुरनले १७ बलमा ३ छक्का र १ चौकासहित ३३ रन बनाएर आउट भए ।