Aafno Khabar

उद्योग वाणिज्य महासङ्घको निर्वाचन मङ्सिर ११ र १२ गते

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा निर्वाचन आउँदो मङ्सिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गएको चैतमा हुनुपर्ने चुनाव कोभिड–१९ का कारणबाट तीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

महासङ्घको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४ औँ वार्षिक साधारण सभा तथा चुनावको मिति तोकेको हो । यसअघि बसेको महासङ्घको कार्यकारिणी समितिले साधारण सभा तथा चुनावसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो ।

त्यो कार्यदलले महासङ्घको साधारण सभा भर्चुअल्ली र चुनावका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो ।

महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा चुनाव २०७६ साल चैत २८ र २९ गते तोकिएकोमा त्यस समयमा सरकारले कोभिड–१९ का कारण देश पूर्णरुपमा लकडाउन हुँदा मिति सरेको थियो ।

पछि जेठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर देशमा लगाइएको लकडाउन तथा निषेधाज्ञाको कारण तय हुन सकेको थिएन ।