काठमाडौं । पीसीआर परीक्षणको शुल्क बढी लिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठ वटा प्रयोगशालालाई तत्काल शुल्क घटाउन निर्देशन दिने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल शुल्क समायोजन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
२४ घण्टाभित्र ती प्रयोगशालाहरूले शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने उहाँको भनाई छ। त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।
मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको हो।
बढी शुल्क लिनेमा ह्याम्स हस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयर छन्।