Aafno Khabar

संघीय कर्मचारीको असहयोगले प्रदेश लोकसेवा काम बिहीन

  • आफ्नो खबर
  • September 30, 2020 प्रकाशित

काठमाडौं । पालिका र प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा कर्मचारी भर्ना गर्नका लागि वाग्मती प्रदेश सरकारले लोकसेवा आयोग गठन गरे पनि कर्मचारी भर्नाका लागि प्रकृया अगाडी बढ्न सकेको छैन ।

प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय र प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत संघीय कर्मचारीले सहयोग नगर्दा कर्मचारी भर्नामा समस्या भएको हो ।

प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार नदिदा संघीय सरकारले कर्मचारी भर्ना गरेर प्रदेश मातहतका मन्त्रालय र कार्यालयमा समेत कर्मचारी पठाइरहेको छ ।

प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना गर्ने अधिकार हुँदा समेत वाग्मती प्रदेश सरकार र पालिकाले दरबन्दी माग नगर्दा लोकसेवा आयोगले कर्मचारी पदपूर्ति गर्न थप समस्या परेको प्रदेश लोकसेवा आयोगले जनाएको छ ।

सरकारी सेवा र अरु सेवाका कर्मचारीलाई सङ्घ, प्रदेश र पालिकाको सेवामा समायोजन गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न सङ्घीय संसदले कर्मचारी समायोजन ऐन, २०७५ बनाएको र यही ऐनको दफा १२ बमोजिम प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दी भित्रका अत्यावश्यक रिक्त पदमा पदपूर्ति गर्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर पनि प्रदेश लोकसेवा आयोगलाई कर्मचारी भर्ना गर्ने अधिकार प्राप्त भइसकेको छैन ।