स्याङ्जा। स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर मृत्यु भएका नौ जनाको रामनदी धाम राम्दीमा सामूहिक अन्त्येष्टि गरिएको छ ।
स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधामको कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षकी आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको हो ।
सबैजना एकै घरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीवलाल परियारले सबै जनालाई दागबत्ती दिनुभयो । घटनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
पहिरोमा पुरिएर जीवितै उद्धार गरिएकी १६ वर्षकी मनिषा नेपालीको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।