Aafno Khabar

आज र भोली देशैभरी पानी पर्ने,शनिबारदेखि पानी पर्न कम हुने

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले मंगलबार बेलुकीदेखि नै झरी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज र भोलि देशभरिकै मौसम एकैछिन खुले पनि फेरि पानी पर्नेछ । अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई ठाउँमा निकै ठूलो पानी परिरहेको छ भने अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने तथा सबै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको पूर्वानुमान छ । पर्सि दिउँसोसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम छ ।

शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले बताएको छ ।