काठमाडौं । दक्षिणकाली नगरपालिकाका युवाहरुले संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्र चम्पादेवी डाँडा जाने आधार क्षेत्रमा फ्रि वाई–फाई सेवा सुरु गरेका छन् ।
नगरपालिकाको वडा नं ४ स्थित बाँसबारी हुँदै चम्पादेवी डाँडामा जाने पदमार्गको प्रवेशद्वार क्षेत्रमा स्थानीय युवाहरुको पहलमा फ्रि वाई फाई सेवा सुरु गरिएको हो ।
कोरोना संक्रमणका कारण उपत्यकामा भएको लामो लड डाउन र निषेधाज्ञा अन्त्य भएसँगै उक्त पदमार्ग हुँदै चम्पादेवी पाउ, हात्तिवन रिसोर्ट साथै चम्पादेवी डाँडा जाने आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ ।
कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरुले संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरुले थालेको प्रयासको प्रशंसा गरेका थिए ।
समुद्री सतहदेखि दुई हजार ३०० मिटर उचाइमा अवस्थित चम्पादेवी धार्मिक, सांस्कृतिक पर्यटनको उपयुक्त गन्तव्य मानिन्छ ।