Aafno Khabar

मानव स्वास्थ्यमा हानी गर्ने चार कम्पनीका स्यानिटाइजर बजारमा

  • आफ्नो खबर
  • September 16, 2020 प्रकाशित

कामठाडौं। मानव स्वास्थ्यमा हानी गर्ने रसायन मिश्रित चार कम्पनीका स्यानिटाइजर बजारमा फेला परेका छन् । स्वास्थ्यका लागि हानीकारक मिथानोल मिश्रति चार कम्पनीको स्यानिटाईजर बजारमा भेटिएको औषधि व्यवस्था विभाले जनाएको छ ।

चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललितपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।

नेपालमा आयात भएका चीनमा बनेको ओपकल नन वासिङ इन्टिब्याक्टेरियाल सोलुसन १२० एमएल र पामाकेयर स्ट्याण्ड हृयाण्ड स्यानीटाइजर ६० एमएलमा विषाक्त गुणस्तर पाइएको हो ।

काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत तथा ३९.३४ प्रतिशत पाइएको थियो ।

यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत इथानोलल भएको भेटिएको थियो ।

कम गुणस्तर तथा हानीकारक विषाक्तयुक्त स्यानिटाईजरको बिक्री वितरण रोक्न र बजारमा भएको स्यानिटाईजर तुरुन्त फिर्ता लैजान विभागले उत्पादकलाई आग्रह गरेको छ । गुणस्तरहीन स्यानिटाइजर प्रयोग नर्गन विभागले सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।