काठमाडौं । कोरोनाभाइरस महामारी सुरु भएयता विश्वभरि यो रोगसँग जुध्न तीनवटा सामान्य विधि विश्व स्वास्थ्य सङ्गठन र धेरै देशका सरकारहरूले अघि सारिरहेका छन्।
नेपाल सरकारले पनि एसएमएस भनेर सामाजिक दूरी, मास्कको प्रयोग अनि बेलाबेला साबुन वा स्यानिटाइजरले हात सफा गर्न आह्वान गरिरहेको छ। व्यक्तिगत सरसफाइलाई कोरोनाभाइरसबाट जोगिने उत्तम उपाय मानिएको छ।
त्यसका लागि घरभित्र बस्दा साबुनपानीको प्रयोग बढी प्रभावकारी र किफायती मानिन्छ। तर बाहिर निस्किँदा साबुनपानी प्रयोग गर्न सम्भव नहुने हुँदा तत्काल हात सफा गर्न स्यानिटाइजर उचित मानिन्छ।
कसरी चिन्ने उपयुक्त स्यानिटाइजर ?
तर के बजारमा पाइने जुनसुकै स्यानिटाइजर प्रभावकारी छन् त ? यसबारे नेपालमा कुनै विस्तृत अनुसन्धान त भएको छैन तर मुख्य नियामक निकाय औषधि व्यवस्था विभागले गर्दै आएको निरीक्षण अनुगमनमा कतिपय स्यानिटाइजर गुणस्तरहीन हुनसक्ने पाइएको छ।
यो महामारी सुरु भएपछि चैत ९ गते हामीले स्यानिटाइजरको गुणस्तरसम्बन्धी मापदण्ड बनायौँ र त्यसबमोजिम बजार अनुगमन गर्दै आएका छौँ। केही समयअगाडि १५० वटा नमुनामा परीक्षण गर्दा ३० वटा जति फेल पनि भएका पायौँ। त्यसैले सचेत भएर यसको प्रयोग गर्न जरुरी देखिन्छ, विभागका महानिर्देशक नारायण ढकाल भन्नुहुन्छ।
खासगरी तीनवटा विषयमा ध्यान दिएर मात्र स्यानिटाइजर किन्न उहाँले सुझाव दिनुभएको छ ।
अल्कोहलको मात्रा : कुनै पनि स्यानिटाइजर किन्दा त्यसको लेबल हेरेर त्यसमा अल्कोहलको मात्रा ७०–८० प्रतिशत भएको खण्डमा मात्र किन्नुपर्छ
दर्ता : नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भए वा नभएको पहिल्याउनुपर्छ ।
रङ्गरूप :झट्ट हेर्दा खेरि नै त्यसमा अन्य मिसावट भए वा नभएको निर्क्योल गर्नुपर्छ