Aafno Khabar
Creative Ideas

यही वर्षमा नेपाल ‘सडक बालबालिका मुक्त राष्ट्र’ हुन्छ : प्रधानमन्त्री ओली

  • आफ्नो खबर
  • २०७७ भाद्र २९ गते प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताउनुभएको छ । उहाँले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।

उहाँले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गर्नुभयो । उहाँले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गर्नुहुँदै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताउनुभयो ।

उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ । ”उहाँले कोभिड–१९ महामारीबाट बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारेको चर्चा गर्नुहुँदै महामारी परास्त गर्दै बालबालिकाको भविष्य सुरक्षित गरिने विश्वास व्यक्त गर्नुभयो ।