Aafno Khabar

पाकिस्तानमा बच्चासहित सडकमा अलपत्र परेकी महिलामाथि सामूहिक बलात्कार

  • एजेन्सी
  • September 11, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

पाकिस्तानमा आफ्नो बालबच्चासहित बाटोमा अलपत्र परेकी एक महिलामाथि केही लुटेराले सामूहिक बलात्कार गरेका छन् । घटनामा संलग्न १२ जना पक्राउ परेकाे प्रहरीले जनाएकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

घटनाको विषयमा बुधबार पाकिस्तानी मिडिया र सोसल मिडियामा महिलामाथि हुने यौन अपराधको विषयमा आक्राेश पाेखिएका छन् । प्रहरीको पनि निकै आलोचना भएकाे छ । घटना गत आइतबार रातिकाे हाे ।

बलात्कारकी शिकार महिलाका आफन्तको तर्फबाट दर्ता गरिएको एफआइआर अनुसार महिला आफ्ना बालबच्चासहित कार चलाएर लाहौरबाट गुजरांवाला गइरहेकी थिइन् ।

उनकाे कार बीच बाटाेमा राेकियाे । लुटेराले उनको पैसा, गहना र अन्य सामान पनि लुटे र उनीमाथि बलात्कार गरे ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम नवाजले घटनाबारे ट्वीटमा लेखेकी छिन् ‘गाडी गुड्ने बाटोमा सामूहिक बलात्कारको घटनाले मेरो मन रुवाएको छ । यो बर्बर अपराधमा लिप्त सबैले सजाय पाउनुपर्छ र यो एउटा उदाहरण बन्नुपर्छ । यो साधारण कुरा होइन । याद राख्नुहोस्, सामाजिक मूल्यमा गिरावट र दमनविरुद्ध लड्नु हामी सबैको जिम्मेवारी हो ।’